अबदेखि काठमाडौं छिर्न आरडिटी परीक्षणको रिपोर्ट चाहिने, प्रवेशका सबै नाका सिल हुने
वि.सं.२०७७ जेठ ८ बिहीवार १६:०८
1.5K
shares
काठमाडौं: काठमाडौं उपत्यकामा समेत कोरोनाको जोखिम बढ्दै गएपछि गृह मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्य कामको लागि काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो ।
जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वयन गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाइ हुने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा उपत्यकाका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
नाका प्रवेशका स्थानीय तहहरू लगायत काठमाडौं उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ-आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थलहरूलाई क्वारेन्टाईनमा बस्ने व्यक्ति स्वयंमले क्वारेनटाईन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टाइन प्रयोजनका लागि अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने भएको छ ।
काठमाडौं उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै स्वयं आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्टका साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्नेछ । काठमाडौं उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नुपूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
काठामाडौं उपत्यकास्थित स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी र लगत संकलन गरी आवश्यक कारबाही प्रक्रिया सुरु गर्ने र सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको चेकचाँच र निगरानीमा थप कडाई गर्ने, स्थानीय तहसँग समन्वय गर्ने भएको छ ।

वि.सं.२०७७ जेठ ८ बिहीवार १६:०८



















