आज उँभौली पर्व, किराँत समुदायले देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाउँदै
वि.सं.२०७७ वैशाख २५ बिहीवार ०७:४९
2.5K
shares
काठमाडौं: प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ । किरात समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि बेंसीबाट लेक अर्थत् उँभो लाग्ने किराँत समुदायको जन विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्ने गर्दछन । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको किरातहरुको जन विश्वास छ । यस पर्वका अवसरमा सुनुवार समुदाय लगायत किराँत समुदायका पनि विभिन्न सम्प्रदायबीच साकेला नाच पनि नाचिन्छ । यस वर्ष डेढ महिनादेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधि मात्र पूरा गर्ने तयारी गरिएको छ ।
वि.सं.२०७७ वैशाख २५ बिहीवार ०७:४९




















