बामदेव गौतमले मागे खडकप्रसाद ओलीको राजीनामा
वि.सं.२०७७ वैशाख १४ आइतवार १०:२७
1.1K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन सुझाब दिएका छन् । तर, ओलीले राजीनामा नगर्ने र सम्भावित सबै चुनौती सामना गर्ने जवाफ दिएका छन् ।
स्थायी समितिका २० सदस्यले लिखित माग गरे पनि अध्यक्ष ओलीले तत्काल बैठक बोलाउन स्वीकार गरेका छैनन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक बोलाउनुपर्ने पक्षमा छन् । यही विषयमा छलफल गर्न ओलीले दाहाल, नेपाल र गौतमलाई शनिबार बालुवाटार बोलाएका थिए ।
मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेर राष्ट्रपतिबाट जारी भएको दिन बसेको सचिवालय बैठकमा खरो आलोचना गरेका वरिष्ठ नेता खनाल र प्रवक्ता श्रेष्ठलाई भने ओलीले शनिबार बालुवाटार बोलाएका थिएनन् । तर, अध्यादेश जारी हुने दिन नरम देखिएका गौतमले शनिबार भने ओलीको खरो आलोचना मात्र गरेनन्, ओलीको नेतृत्व असफल भएको भन्दै दुवै पदबाट राजीनामा पनि मागे ।
आफूले राजीनामा दिए कसलाई प्रधानमन्त्री र कसलाई अध्यक्ष बनाउने तयारी छ भनेर ओलीले गौतमलाई सोधेका थिए । गौतमको जवाफ थियो, ‘तपाईंले राजीनामा दिएपछि पार्टीले विधिसम्मत प्रक्रियाबाट निर्णय गर्छ । तर, सरकारलाई असफल र पार्टीलाई बदनाम बनाएर तपाईं बसिरहन मिल्दैन ।’ गौतमको भनाइमा जवाफ दिँदै ओलीले भनेका थिए, ‘मविरुद्ध षड्यन्त्र भइरहेको छ भन्नेमा म स्पष्ट छु, तर म राजीनामा दिन्नँ । बरु, तपाईंहरू अविश्वास प्रस्ताव ल्याउनुस्, सामना गर्छु । को–कसले मेरोविरुद्ध मतदान गर्छन्, तिनका नाम पनि छातीमा राख्छु । तर, अन्तिम घडीसम्म डटिरहन्छु ।’
वि.सं.२०७७ वैशाख १४ आइतवार १०:२७



















