मेयर बालेनले गरे चीन भ्रमण रद्द
वि.सं.२०८० भदौ १४ बिहीवार १४:१८
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमण रद्द गरेका छन् । नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै मेयर साहले चीन भ्रमण रद्दा गराएका हुन् ।
चीनले पछिल्लो समय सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेकोप्रति आपत्ति जनाउँदै मेयर बालेनले चीन भ्रमण रद्द गराएको जानकारी गराएका छन् ।
चुच्चे नक्सा झिकेर बुच्चे नक्सालाई कायम राख्नु नेपालीको संवदेशनशीलतामाथि चालेको गलत कदम बताउँदै मेयर साहले नैतिकताको आधारमा चीन भ्रमण रद्द गरेको फेसबुकबाट जानकारी गराएका छन् ।
‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । नेपाली भू-भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, उनले फेसबुकमा लेखेका छन् ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको चुच्चे नक्सालाई हटाएर पहिलेको बुच्चे नक्सा कायम गरी नेपालको नक्सा सार्वजनिक गरेको छ ।
वि.सं.२०८० भदौ १४ बिहीवार १४:१८