भदौ ४ गते कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिदै
वि.सं.२०८० भदौ १ शुक्रवार १४:४६
1.5K
shares
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छ्न् । काङ्ग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले भदौ ४ गते दिउँसो १ बजे प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने जानकारी दिए ।
उनका अनुसार विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भइसकेको छ । प्रदेशसभा नियमावलीको १२८ को १ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव पेश गर्नका लागि सूचना दिएका थिए । सोही नियमावलीको ३ मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोकेको मुख्यमन्त्री थापाले बताए । थापा साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार थापा विश्वासको मत लिन लागेका हुन् ।
वि.सं.२०८० भदौ १ शुक्रवार १४:४६




















