कोशी प्रदेशमा उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त
वि.सं.२०८० साउन १६ मंगलवार १८:०५
1.7K
shares
काठमाडौं: सत्ता गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको समर्थनमा उनले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङ कहाँ दाबी पेस गरेका थिए ।
खापुङले दिएको समय सीमा साउन १६ गते ५ बजेको समयभित्रै ४७ जना सांसदले हस्ताक्षर गरेर दाबी थापाले पेस गरेका थिए । त्यसलगत्तै खापुङले थापालाई एक महिनाबीचमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
थापाले दाबी पेस गर्न जानुअघि कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । काठमाडौंबाट विराटनगर उत्रिएलगत्तै उनले प्रदेशसभामा सचिवालयमा पुगेर उपसभामुख सिर्जना दनुवारलाई राजीनामा बुझाएका थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक थियो ।
गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद पुगेका छन् । प्रदेशमा एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।
वि.सं.२०८० साउन १६ मंगलवार १८:०५




















