कोशी प्रदेशमा ढल्यो नेकपा एमाले नेतृत्वको सरकार
वि.सं.२०८० असार १५ शुक्रवार १५:३९
2K
shares
विराटनगरः कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । यससँगै एमालेले ६ महिनाबीचमा ४ प्रदेशको नेतृत्व गुमाएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन नसकेका हुन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि सभामुख बाबुराम गौतमले मतविभाजन प्रक्रिया अघि बढाएका थिए ।
प्रदेशसभाको बैठकलाई सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वमा प्रदेश सरकारले गति लिएको भन्दै कांग्रेस र माओवादीसहितका दलहरुसँग पनि साथ मागेका थिए । सभामुख गौतमका अनुसार ९३ सांसद्मध्ये मत विभाजनका क्रममा ८९ जना उपस्थित रहेका थिए ।
तर कार्कीको पक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसदले मात्रै मत दिए । यस्तोमा कार्कीले मागेको विश्वासको मतको पक्षमा ४६ मत परेको हो । उनको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ जना सांसद थिए । तर कार्कीको विपक्षमा ४३ मत मात्रै परेको छ ।
कोशीमा जनता समाजवादीकी एक्ली सांसद निर्मला लिम्बु भने बैठकमा उपस्थित नै भइनन् । उनलाई विश्वासको मतको पक्षमा ल्याउने कार्कीको प्रयास सफल हुन सकेन । यस्तोमा बहुमतका लागि कार्कीलाई ४७ मत चाहिनेमा ४६ मात्रै आयो भने विपक्षमा ४३ मत खसेको छ ।
कार्कीले यसअघि आफू सहमतिको सरकार बनाउन पनि तयार रहेको बताउँदै त्यसका लागि अन्य दलहरु तयार हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबारदेखि प्रदेशसभाको बैठक बसेको थियो । मुख्यमन्त्री कार्कीले बिहीबार नै विश्वासको मत लिने तयारी थियो। तर अबेर राति बैठक स्थगित भएको थियो ।
बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा सांसदहरुको प्रश्नको जवाफ दिए । कार्की २०७९ पुस २४ गते मुख्यमन्त्री बनेका थिए । त्यसबेला उनलाई एमाले, माओवादी, राप्रपा र जसपाका सांसदको समर्थन थियो ।
तर पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धन भंग भएपछि माओवादी र जसपाले समर्थन फिर्ता लिँदा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो । यस्तोमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । कार्की पुस २४ मा संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गरेर मुख्यमन्त्री बनेका थिए ।
प्रदेश १ मा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसद छन् । कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर माओवादी र जसपाले खुट्टो झिक्दा कार्कीसँग एमाले र राप्रपाका ४६ मात्रै सांसद देखिए । एमाले स्थायी कमिटी सदस्य कार्की गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा झापा ५ ‘क’बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
वि.सं.२०८० असार १५ शुक्रवार १५:३९




















