प्रदेश १ को नामकरणको प्रस्ताव पेस गर्ने तयारी
वि.सं.२०७९ फागुन १७ बुधवार १०:५०
1.3K
shares
काठमाडौं: प्रदेश १ को नामकरणको विषयले आज प्रदेशसभामा प्रवेश पाउने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा नामकरणको प्रस्ताव पेस गर्ने तयारी गरेको हो ।
प्रदेश १ सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्ति सिटौलाले सरकारले नामकरणको विषयलाई पहिलो प्राथमिक्तामा राखेकाले सरकारका तर्फबाट प्रदेशसभामा नामकरण लैजाने विषयमा सरकारको मूल काम भएको बताए ।
पहिलो कार्यकालमा प्रदेशको नामको विषयमा दलहरुबीच सहमति नहुँदा नामकरणको विषय थाँती रहेको थियो । पहिलोपटक सरकारले औपचारिक रुपमै प्रदेशसभामा नामकरणको विषयलाई प्रस्तावका रुपमा लैजान लागेको हो ।
केही समयदेखिको निरन्तर दलका नेताबीच भएको गोप्य छलफलपछि आज संसद्मा नामकरणको विषय प्रवेश गराउने तयारी गरिएको छ ।
स्रोतका अनुसार प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव भएको छ । यसअघिको प्रदेशसभामा पनि नामकरणको विषय पेचिलो बनेपछि थाँती रहेको थियो । चुनावको मुखमा नामकरण टुंग्याउँदा दलहरुले आफ्नो भोटमा असर पर्छ भन्दै त्यसबेला नामकरणको विषयलाई प्रदेशसभामा प्रवेश गराएका थिएनन् ।
प्रदेशको राजधानी र नामकरण एकैपटक टुंग्याउने तत्कालीन मुख्यमन्त्री शेरधन राईको प्रयास पनि सफल भएको थिएन । अहिले दलहरु प्रदेशसभाको सुरुमै नाम टुंग्याउँदा सजिलो हुने महसुस गरेपछि यसमा सहमत भएका हुन् ।
वि.सं.२०७९ फागुन १७ बुधवार १०:५०




















