प्रतिनिधिसभाको सभामुख चयनका लागि उम्मेदवारी दर्ता आज

वि.सं.२०७९ माघ ४ बुधवार ०७:२४

काठमाडौं: प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।
अहिलेसम्म सभामुख दाबी गरिरहेका दलहरुले उमेदवार तय गर्न सकेका छैनन् । प्रधनमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति र सभामुख लिने सहमति गरेको नेकपा एमालेले समेत सभामुखको उमेदवार तोक्न सकेको छैन ।
यस्तै संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ तर कांग्रेसले पनि के गर्ने भन्ने अझै टुग्याएको छैन ।
सदनको अभूतपूर्व मत लिन सफल भएका प्रधानमन्त्री दाहालले भने सभामुख र राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउने भन्दै छलफल थालेका छन् । मंगलबार बालुवाटारमा विश्वासको मत दिएका सबै पार्टीहरु बोलाएर उनले छलफल पनि गराएका छन् । छलफलमा कुनै सहमति हुन सकेन ।
प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको खोजी गरे पनि एमाले भने आफूले पाउने भनेका पद छोड्ने पक्षमा देखिएको छैन । एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य देवराज घिमिरे र सांसद विद्या भट्टराई सभामुखका आकांक्षीका रुपमा देखिएका छन् । पूर्वसभामुखसमेत रहेका दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुखमै दोहोरिन प्रस्ताव आए पनि उनले त्यो प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

वि.सं.२०७९ माघ ४ बुधवार ०७:२४