सिरहाको मिर्चैयामा तनावग्रस्त, ६ राउण्ड हवाई फायर

वि.सं.२०७९ पुस २४ आइतवार १५:५३

काठमाडौं: सिरहाको मिर्चैयास्थित सगरमाथा माध्यामिक विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएपछि त्यहाँ तनाव भएको छ ।
शुक्रबार विद्यालयमा औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिट दिएपछि छात्राको मृत्यु भएको थियो । कक्षा ८ मा अध्ययनरत सिरहा नगरपालिका ११ भलुवाहीकी १५ वर्षीया सिर्जना कुमारी महराको शनिबार राति उपचारको क्रममा फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको सिरहा प्रहरीले जानकारी दिएको छ ।
सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको मृत्युपछि आइतबार बिहानै स्थानीय, अविभावक र विद्यार्थीले नाराबाजी गर्दै विद्यालयमा तोडफोड गरेका थिए । तोडफोडमा विद्यालयमा क्षति पुगेको छ ।
आइतवार बिहान १० बजेदेखि मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग उनीहरु अवरुद्ध पारेका छन् । विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैयामा ढुंगामुढा समेत गरेको प्रहरीले जनाएको छ ।
तोडफोडपछि स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी टोली पुगेको थियो । छात्रालाई पानी माग्दा स्प्रिड दिएकी शिक्षिका अम्बिका लम्साललाई प्रहरी कार्यालय लगिएको छ ।
आक्रोशित भीडले प्रहरी कार्यालयमा पनि तोडफोड गरेको छ । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर र ३ राउण्ड ग्यास सेल प्रहार गरेको छ ।
शिक्षिका अम्विका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
विद्यार्थीलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल उपचारको क्रममा मृत्यु भएको थियो । महिनावारी भएर पेट दुखेपछि छात्राले विद्यालयमा औषधि र पानी मागेकी थिइन् ।
शव पोष्टमार्टमका लागि सिरहा अस्पतालमा लगिएको छ। शिक्षिकामाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ पुस २४ आइतवार १५:५३