तराईमा शीतलहरसँगै चिसोले जनजीवन कष्टकर बन्दै

वि.सं.२०७९ पुस २० बुधवार १०:०३

काठमाडौं: तराईमा शीतलहरसँगै चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेपछि तराई-मधेसका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
चिसोले बालबालिकालाई असर गर्न थालेपछि प्रदेशका आठवटै जिल्लाका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
स्थानीय तहहरुले निर्णय गरेपछि मधेस प्रदेशका धेरै सामुदायिक विद्यालय बन्द भइसकेका छन् । कतिपय विद्यालयमा त्रैमासिक परीक्षा चलिरहेको छ । त्यस्ता विद्यालय पनि परीक्षा सकिनासाथ बन्द गर्ने तयारी भएको छ ।
सर्लाही, महोत्तरी, धनुषा, सिरहा, बारा, रौतहट, पर्सालगायतका जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएका हुन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका, मिथिला बिहारी नगरपालिका र विदेह नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
महोत्तरीका औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनमा गाउँपालिका, जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका, भंगहा नगरपालिका, मट्टिहानी नगरपालिका लगायतका स्थानीय तहले पनि विद्यालय बन्दको निर्णय गरेका छन् ।
सिरहाका मिर्चैया नगरपालिका, सिरहा नगरपालिका, कर्जन्हा, धनगढीमाइ, सुखिपुर नगरपालिका र भगवानपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले पनि विद्यालयको पठन पाठन बन्द गरेका छन् ।
मधेसका धेरैजसो स्थानीय तहले एकसाताका लागि विद्यालयमा जाडो बिदा दिएका छन् । महोत्तरीको पिपरा गाउँपालिका र जलेश्वर नगरपालिकाले यहि पुस २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर, जिराभवानी, सखुवाप्रसौनी गाँउपालिकाले पनि एक साताका लागि जाडो बिदा दिएका छन् । बाराको कलैया उपमहानगरपालिका, देवताल गाउँपालिकाले पनि ४ दिनको लागि विद्यालय बन्द गरेका छन् ।
यही पुस १३ गते मधेसका जिल्लामा यस वर्षकै सबैभन्दा कम तापक्रम देखिएको थियो । त्यो दिन बाराको सिमराको न्यूनतम तापक्रम ६ दशमलव ५ र मधेस प्रदेशको राजधानी जनकपुरको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको थियो ।
हुस्सु र कुहिरोका कारण तराई-मधेसका जिल्लामा भिजिबिलिटी (पारदर्शिता) पनि घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दृश्यमा एक किलोमिटरभन्दा कम पारदर्शिता हुनुलाई कुहिरो र एक देखि पाँच किलोमिटर सम्म पारदर्शिता हुनुलाई हुस्सु भनिन्छ ।
भिजिबिलिटी कम हुँदा सडकमा सवारीसाधन सञ्चालनमा पनि समस्या हुने गरेको छ । कठ्यांग्रिने जाडोका कारण सहर-बजार र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ ।
कठ्यांग्रिदो चिसोले अति विपन्न परिवार, दलित, मजदुर, किसान, स्कुले बालबालिकालाई बढी असर गरिरहेको छ । विशेषगरी शरीरमा लगाउने बाक्ला र न्यानो कपडा नभएका तराई-मधेसका डोम, चमार, मुसहरजस्ता अति पिछडिएका र गरिब वर्ग चिसोको मारमा परेका छन् ।

वि.सं.२०७९ पुस २० बुधवार १०:०३