काभा महिला भलिबल नेसन्स लिग आजदेखि सुरू हुँदै, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै
वि.सं.२०८१ साउन १७ बिहीवार १२:०३
666
sharesकाठमाडौं: काभा महिला भलिबल नेसन्स लिग आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरू हुँदैछ । उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दैछन् । खेल दिउँसो ३: १५ बजे सुरु हुनेछ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपालले उपाधि जित्नेमा टोली आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको दुई मैत्रीपूर्ण खेलबाट कमीकमजोरी सुधारेको बताइन् । त्यस्तै, करिब एक महिनाको लामो तयारीले गर्दा पनि आफ्नो टोली अझ बलियो भएको उनको भनाइ थियो । ‘रसियासँग खेलेपछिको पछिल्लो ब्लक, डिफेन्स र सर्भिसमा प्रशिक्षण केन्द्रित रह्यौं । सहभागी अन्य राष्ट्र बलियो भएपनि उत्कृष्ट प्रदर्शनकासाथ खेल आफ्नो पक्षमा पार्ने टिमको योजना छ,’ उनले भनिन् ।
सात दिनसम्म चल्ने प्रतियोगितामा नेपाल र श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । आज नै भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग खेल्नेछ । त्यस्तै, तेस्रो खेल साउन २० गते माल्दिभ्स र लिगचरणको अन्तिम खेल साउन २१ गते इरानसँग खेल्नेछ ।
प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् ।
वि.सं.२०८१ साउन १७ बिहीवार १२:०३