वर्ष युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक
वि.सं.२०८० माघ २४ बुधवार ०८:१०
1.4K
shares
काठमाडौं: आगामी साता हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको वर्ष युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वर्ष युवा खेलाडी र प्रशिक्षकको समान ८-८ खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।
यसअघि समान ५-५ खेलाडीको मनोनयन हुने उक्त विधामा यसपटकदेखि मञ्चले नयाँ प्रयोग गर्दै उत्कृष्ट ८ को मनोनयन सार्वजनिक गरेको हो । वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा खेलाडीलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यले यो प्रयोग गरिएको मञ्चले जनाएको छ ।
वर्ष युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको दई दिनअघि आइतबार मात्र वर्ष पुरुष र वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका ८ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा हुने पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने मञ्चले जनाएको छ । अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ ।
उत्कृष्ट वर्ष युवा खेलाडीतर्फ क्रिकेट, बक्सिङ र फुटबलका २-२ खेलाडी छन् । एथलेटिक्स र गल्फबाट १/१ जना मनोनयनमा परेका छन् । यूवा वर्ष खेलाडीमा क्रिकेटका यू-१९ का कप्तान देव खनाल र अर्का खेलाडी दीपेश कँडेल, फुटबलका सुजाता तामाङ र युनेश बुढाथोकी, बक्सिङका सुष्मा तामाङ र विजय बाटासहित एथलेटिक्सकी राममाया बुढा र गल्फका सद्भाव आचार्य मनोनयनमा परेका छन् ।
वर्षका उत्कृष्ट युवा खेलाडी मनोनयन
विजय बाटा (बक्सिङ)
– एएसबीसी यू-२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा पुरुषतर्फ कास्य पदक विजेता खेलाडी ।
– नवौं राष्ट्रिय खेलकुदमा रजत पदक जित्न सफल ।
देव खनाल (क्रिकेट)
– नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्न सफल
– देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल
– ५ खेलको ३ इनिङ्समा ६५ माथिको औसतमा १ सय ९७ रन बनाउन सफल
– कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १२५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल
– उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यू-१९ राष्ट्रिय प्रतियोतामा उपविजेता ।
दीपेश कँडेल (क्रिकेट)
– आईसीसी यू-१९ विश्वकपको एसिया छनोटको फाइनलमा युएईविरुद्ध ह्याट्रिक विकेट
– यूएईलाई जितनिम्ति ३ ओभरमा ११ रन आवश्यक हुँदा दीपेशले ४८ औं ओभरमा बलिङ मोर्चा सम्हाल्दै पहिलो ३ बलमा ३ रनमात्र दिए । त्यसपछि लगातार तीन विकेट लिई ह्याट्रिक पूरा गरेर आईसीसी यू-१९ विश्वकपको एसिया छनोटको उपाधि दिलाउन सफल । फाइनलमै ५ विकेट लिन सफल ।
– नेपालले ४ खेलमा १२ विकेट लिन सफल ।
राममाया बुढा (एथलेटिक्स)
– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत (महिला जुनियर ६ किमि)
– एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण विजेता
– गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण र ५ किमिमा रजत
– देवदह हाफ म्याराथनमा स्वर्ण
– राइट टु प्रोटिन रनमा रजत
– दोस्रो वीर गणेशमान सिंह १० किमि, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमि रोड रेसमा रजत
– तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडमा स्वर्ण ।
सद्भाव आचार्य (गल्फ)
– सुवास तामाङसँग मिलेर नेपाल टुरिजम कप र बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा स्वर्ण जित्न सफल
– नवौं राष्ट्रिय खेलकुदमा बाग्मती प्रदेशका लागि टिममा स्वर्ण र व्यक्तिगतमा रजत जित्न सफल ।
सुजाता तामाङ (फुटबल)
– २०७९ कात्तिकमा बंगलादेशमा भएको साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि विजेता
– साफ यू-१५ च्याम्पियनसिपकी उत्कृष्ट गोलकिपर। चार खेलमध्ये तीन खेलमा क्लिनसिट राख्न सफल
– बंगलादेशसँग १–१ को बराबरी खेलमा पेनाल्टी बचाउन सफल गोलकिपर
– २०७९ चैतमै बंगलादेशमा भएको साफ यू-१७ महिला च्याम्पियनसिपमा पनि उत्कृष्ट गोलकिपर घोषित। एक क्लिनसिट राख्न सफल ।
सुष्मा तामाङ (बक्सिङ)
– एएसबीसी यू-२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत
– नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक । फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जित
– एएसबीसी यू-२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट
– नवौं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वाग्मती प्रदेशका लागि स्वर्ण
– विश्व महिला बक्सिङ च्याम्पियनसिप, भारतमा सहभागी ।
युनेश बुढाथोकी (फुटबल)
– श्रीलंकाको कोलम्बोमा भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा उपविजेता
– नेपाललाई साफ यू–१७ च्याम्पियनसिपको फाइनल पुर् याउन महत्वपूर्ण योगदान
– च्याम्पियनसिपमा संयुक्त रूपमा सर्वाधिक ४ गोल गरेका थिए। समूह चरणमा भुटान र भारतविरुद्ध १–१ तथा सेमिफाइनलमा श्रीलंकाविरुद्ध २ गोल गर्न सफल
– भारतसँग एक गोलले पछि पर्दा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ३–१ ले जित्न सफल
यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा क्रिकेट र फुटबलबाट २–२ जना मनोनयनमा छन् । एथलेटिक्स, बक्सिङ, भलिबल र पौडीबाट १–१ जना परेका छन् । वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), भगवती रानामगर (फुटबल), अनन्त थापा (फुटबल), भरत शाह (भलिबल), ओङ्देन लामा (पौडी), जगत टमाटा (क्रिकेट) र मोन्टी देशाई (क्रिकेट) परेका छन् ।
वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयन
अनन्त थापा (फुटबल)
– साफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली टिमका प्रशिक्षक
– साफ च्याम्पियनसिपमा पहिलो पटक नेपालले भारतलाई हराउँदाका प्रशिक्षक
– भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलमा बराबरी नतिजा
– पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक एसियाली छनोटमा भियतनामविरुद्ध घरेलु मैदान दुई खेलको प्रशिक्षक ।
भगवती रानामगर (फुटबल)
– बंगलादेशमा भएको साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि विजेता टोलीका प्रशिक्षक
– नेपाली महिला युथ टिमले दोस्रो पटक उपाधि जित्दाको मुख्य प्रशिक्षक।
– साफ यू-१७ महिला टिमका प्रशिक्षक। नेपाल चौथो स्थान सफल ।
भरत शाह (भलिबल)
– काभा सेन्ट्रल जोन बिच भलिबलमा दुई रजत जित्दाका प्रशिक्षक
– उनको प्रशिक्षणमा नेपालको महिला र पुरुष टिमले रजत जितेको थियो ।
चन्द्र गुरुङ (एथलेटिक्स)
– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक। सिनियरमा २ स्वर्ण र १ कास्य तथा जुनियरमा २ रजत र १ कास्य
– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल १ स्वर्ण र २ कास्य जित्दाका प्रशिक्षक ।
दीपक महर्जन (बक्सिङ)
– एएसबीसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा १ रजत र ३ कास्य पदक दिलाउँदाका प्रशिक्षक
– च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल, हेमा राई, त्रिशा जबेगु र विजय बाटा कास्य जित्न सफल ।
जगत टमाटा (क्रिकेट)
– आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाललाई ८ वर्षपछि छनोट गराउन सफल प्रशिक्षक
– यूएईलाई उसकै भूमिमा अन्तिम खेलमा पराजित गरी एसिया छनोट जित्दै नेपाल विश्वकपमा पुग्न सफल ।
मोन्टी देशाई (क्रिकेट)
– नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल प्रशिक्षक
– विश्वकप लिग २ को अन्तिम १२ मध्ये ९ खेल जिताएर नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल
– विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै सोझे विश्वकप छनोट हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन सफल ।
ओङ्देन लामा (पौडी)
– नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबले सर्वाधिक २० स्वर्ण जित्दाका प्रशिक्षक
– नवौं राष्ट्रियमा आर्मी २० स्वर्ण, ९ रजत ७ कास्यसहित ३६ पदक जित्न सफल । डुवाना लामा ९ र नासिर याहा हुसेन ७ स्वर्ण जित्न सफल
यस्तै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन होटल याक एण्ड यतिमा घोषणा हुने मञ्चले जनाएको छ । वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडी मनोनयन गरिएको हो ।
यसअघि अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।
उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ । ई–सेवाबाट भोटिङ र नेपाल खेलकुद पत्रकार मञ्चको एनएसजेएफ पल्सर स्र्पोट्स अर्वाड तथा मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीको आधिकारिक फेसबुक पेज पल्सर नेपालबाट भोटिङ जारी छ ।
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एण्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।
वि.सं.२०८० माघ २४ बुधवार ०८:१०




















