पाकिस्तानलाई दुई विकेटले हराउँदै श्रीलंका एसिया कपको फाइनलमा
वि.सं.२०८० भदौ २९ शुक्रवार ०६:३४
5K
shares
एजेन्सी: पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका एसिया कपको फाइनलमा पुगेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पाकिस्तानले दिएको २५२ रनको लक्ष्य पछाएको खेलमा श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । वर्षाले प्रभावित हुँदा ४२/४२ ओभर खेलाइएको यस खेलमा डक वर्थ लुइस नियम अनुसार श्रीलंकालाई ४२ ओभरमा २५२ रनको लक्ष्य दिइएको थियो ।
श्रीलंकाका लागि चारिथ असलंकाले अन्तिम २ बलमा जितका लागि ६ रन आवश्यक भएको बेला चौका र २ रन लिएर श्रीलंकालाई जित दिलाउदै फाइनलमा पुर्याएका थिए । उनले अविजित ४९ रन बनाए । त्यस्तै श्रीलंकाका लागि कुसल मेडिन्सले सर्बाधिक ९१, सडीरा समाराविक्रमाले ४८ रन बनाए । पाकिस्तानी बलर इफ्तिखार अहमदले ३, शाहिन शाह अफ्रिदीले २ तथा शादाव खानले एक विकेट लिएका थिए ।
यसअघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४२ ओभरमा ७ विकेट गुमाउदै २५२ रन बनाएको थियो । पाकिस्तानका मोहमद रिजवानले सर्बाधिक ८६ रन बनाए भने अब्दुल्लाह शाफिकले ५२, इफ्तिखार अहमदले ४७ रनको योगदान गरेका थिए । श्रीलंकाले अब उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ । सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेश खेल्ने छन् ।
वि.सं.२०८० भदौ २९ शुक्रवार ०६:३४



















