स्पेन महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा
वि.सं.२०८० साउन ३० मंगलवार १५:५८
1.8K
shares
काठमाडौं: उपाधि दावेदार स्वीडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को फाइनलमा प्रवेश गरेको छ ।
स्पेन महिला विश्वकपको इतिहासमा पहिलोपल्ट स्वीडेनलाई २–१ अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । सुरुवाती ६ संस्करणमा अनुपस्थित स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो ।
तर, यसपटक स्पेनले सानदार प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भयो । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा आज भएको खेलमा स्पेनको जितमा साल्मा पारालुएलो र ओल्गाले गोल गरेका थिए ।
स्वीडेनकी रेविका ब्लमभिस्टको गोल सान्त्वना बन्यो । खेलको अन्त्यतिर गोल निस्कदा खेल निकै रोमाञ्चक बनेको थियो । खेलको ७०औं मिनेटमा स्पेनले अग्रता लिने मौका खेर फाल्यो । जेनिफर हर्मोसोको कट ब्याक पासमा अल्वा रेडोन्डोको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरियो ।
अब स्पेनले उपाधिका लागि २० अगस्टमा इंग्ल्यान्ड र आयोजक अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल भोलि हुनेछ ।
वि.सं.२०८० साउन ३० मंगलवार १५:५८



















