एक खेल अगावै पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश
वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:१३
3.3K
shares
काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका छन् । सोमबार भएका दुवै खेलमा विजयी भएका दुवै टिम अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
ब्राजिलले स्विट्जरल्यान्डलाई १-० गोल अन्तरले पराजित गरेको थियो । खेलको ८३औं मिनेटमा ब्राजिलका लागि क्यासेमिरोले गरेको गोल निर्णायक भएको थियो । स्विटजरल्यान्डले केही मौका पाए पनि गोल फर्काउन सकेन ।
जितसँगै एक खेल बाँकी रहँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो । समूह ‘जी’मा ब्राजिल ६ अंकसहित शीर्षस्थानमा छ । यो समूहमा स्विट्जरल्यान्डको २ खेलमा ३ अंक तथा क्यामरुन र सर्बियाको समान १-१ अंक रहेको छ ।
त्यस्तै हिजो भएको खेलमा सर्बिया र क्यामरुनले ३-३ गोलको बराबरी खेलेका छन् । यता फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० गोलले पराजित गरेको थियो ।
यस्तै पोर्चुगल पनि एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको छ । गएराति १२:४५ मा भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोलले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान बनाएको हो ।
पोर्चुगलका ब्रुनो फर्नान्डेजले खेलको ५४औं मिनेट र अन्तिम इन्जुरी समयमा गरी दुई गोल गरे । यता समूह ‘एच’ मा सोमबार भएको खेलमा घानाले दक्षिण कोरियालाई हरायो । पोर्चुगल समूहको शीर्षस्थानमा छ ।
वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:१३




















