२२औँ संस्करणको आहा-रारा गोल्ड कप पुस १२ देखि सञ्चालन हुने
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०९:१२
4.1K
shares
काठमाडौं: मोफसलकै ठूलो मानिने आहा-रारा गोल्ड कपको २२औँ संस्करण आगामी पुस १२ देखि २३ गतेसम्म सञ्चालन हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिता सञ्चालनको मिति दिएसँगै सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको गोल्ड कप यस वर्ष पनि पोखरा रङ्गशालामा सञ्चालन गर्ने तयारी अघि बढेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आमन्त्रित टोलीहरू सहभागी हुने प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब, विदेशी सहित मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमले भाग लिने सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले बताए ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्ट्रेलियाको विशेष सहयोग रहनेछ । विगतमा झैँ सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्ने छ ।
गोल्ड कपमा हरेक वर्ष मुख्य प्रायोजन गर्दै आएको हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले नै यस वर्ष पनि मुख्य प्रायोजन गर्ने भएको छ । अफिसियल बैङ्क लुम्बिनी विकास बैङ्क, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद्,प्रदेश खेलकुद परिषद् गण्डकी र अखिल नेपाल फुटबल सङ्घ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की-कास्की जिल्ला फुटबल सङ्घ, पोखरा महानगरपालिकाको संयोजनमा प्रतियोगिता गर्ने लक्ष्य सहारा क्लबले लिएको छ ।
गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब हो । गत वर्ष २० औँ आहा-रारा गोल्ड कपको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाई ब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले पहिलो पल्ट उपाधि चुमेको हो ।
आहा-रारा गोल्ड कपमा अहिलेसम्म सबैभन्दा बढी ६-६ पटक मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल पुलिस क्लबले उपाधि चुमेका छन् । मनाङ मर्स्याङ्दीले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा उपाधि हात पारेको छ । २०५८, २०६३, २०६७, २०७०, २०७१ र २०७८ सालमा भएका प्रतियोगितामा भने मनाङ मर्स्याङ्दीले उपबिजेतामा चित्त बुझाएको थियो । यस्तै विभागीय पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ मा भएका खेलमा जित निकालेको थियो ।
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०९:१२



















