पुनर्गठित मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूको सपथ आज, नयाँ मन्त्रीलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराउने

वि.सं.२०७६ मंसिर ५ बिहीवार ०९:०९
762
shares
काठमाडौं: पुनर्गठित मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूको सपथ बिहान ११ बजे हुने भएको छ । नयाँ मन्त्रीहरुलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराउने तयारी गरिएको छ । लामो कसरतपछि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।
नयाँ मन्त्रिमण्डलमा ९ जना भित्रिएका छन् भने अघिल्लो मन्त्रिमण्डलबाट ९ जना नै बाहिरिएका छन् । भौतिक पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मन्त्रिपरिषदबाट बाहिरिएका छन् । यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका प्रसाद यादव, कृषिराज्यमन्त्री रामकुमारी चौधरी र स्वास्थ्यमन्त्री सुरेन्द्र यादव सरकारबाट बाहिरिएका छन् ।
नयाँ मन्त्रीपरिषद्मा हृदयेश त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । वसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात, पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, मोतीलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

वि.सं.२०७६ मंसिर ५ बिहीवार ०९:०९