भाडा लिएर यात्रु बोके टुटल र पठाओलाई कारबाही गर्ने सरकारको चेतावनी
वि.सं.२०७६ मंसिर ४ बुधवार १६:३३
699
sharesकाठमाडौं: सरकारले निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग नगर्न चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।
यो सूचना कार्यान्वयन भएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओ लगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् । विभागका निर्देशक तथा प्रवक्ता तीर्थराज खनालले कानूनमा लेखिएको कुरा कार्यान्वयन गर्न लागिएको बताए । उनले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने स्पष्ट गरे ।
बुधबार विभागले सार्वजनिक सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ । सूचनामा यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।
वि.सं.२०७६ मंसिर ४ बुधवार १६:३३