एकैदिन बस्यो संसदीय समितिको १० बैठक
वि.सं.२०८० जेठ २ मंगलवार ११:५३
1.2K
shares
काठमाडौं: गत वैशाख १५ गते गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समिति बैठक आजदेखि बस्न थालेको छ । आज एकैदिन १० वटा समिति बैठक बसे ।
बैठकको अध्यक्षता समितिका जेष्ठ सदस्यहरूले गरेका छन् । बिहान ९ बजे अर्थ समितिको पहिलो बैठक बसेको हो । अधिकांश संसदीय समितिले बैठकमा स्वागत, परिचय र समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी गराएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवअधिकार, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, दिगो विकास र सुशासन, विद्यायन व्यवस्थापन र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी १० वटा समितिको बैठक बसेको हो ।
अधिकांश समिति करिब २५ सदस्यीय बनाइएको छ । समिति सभापतिमा राजनीतिक दलहरूबीच विवाद हुँदा लामो समयसम्म बैठक बस्न सकेको थिएन ।
यसअघि वैशाख २९ गते प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसदीय समिति सभापति बाँडफाँटको विषयमा सहमति भएको थियो ।
समितिको प्रमुख कार्यजिम्मेवारी भनेको सचिवालयमा दर्ता भई सभाले सैद्धान्तिक,दफावार छलफलका लागि पठाएका विधेयकलाई निष्कर्षमा पुर्याउनु रहेको छ ।
वि.सं.२०८० जेठ २ मंगलवार ११:५३



















