राष्ट्रपति निर्वाचनका लागि प्रधानमन्त्री प्रचण्ड छलफलमा व्यस्त
वि.सं.२०७९ फागुन ११ बिहीवार १३:०२
1.7K
shares
काठमाडौं: राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार पनि विभिन्न दलसँग छलफल गर्दैछन् ।
प्रचण्डले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा तथा लोकतान्त्रिक समाजवादी लोसपासँग पुनः छलफलको तयारी गरेका छन् ।
बालुवाटारमा बुधबार भएको छलफलमा पुरानो गठबन्धनका अन्य दलसँग पहिले प्रचण्डले छलफल गर्ने र त्यसपछि संयुक्त छलफल गरी राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति भएको थियो ।
बिहीबार नै नेपाली कांग्रेसले आन्तरिक छलफल गरेर उम्मेदवार टुंगो लगाउने भएको छ । त्यसका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ ।
राष्ट्रपति पदमा शनिबार उम्मेदवारी मनोनयनको कार्यतालिका छ । राष्ट्रपति पदमा नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेपछि कांग्रेस र माओवादी पुरानै गठबन्धन ब्युँत्याएर अघि बढ्ने तयारी गरेका हुन् । कांग्रेस नेतृत्वको गठबन्धन ब्युँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म मूर्तरूप लिने नेताहरूले बताएका छन् ।
एकीकृत समाजवादीलाई बरु सरकारको नेतृत्व नै दिएर भए पनि पुरानो गठबन्धनलाई निरन्तरता दिनेसम्मको तयारी भइरहेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।
वि.सं.२०७९ फागुन ११ बिहीवार १३:०२



















