१४ वर्षीय नातिनीलाई यौनधन्दामा लगाउने हजुरआमा पक्राउ
वि.सं.२०७९ असार ८ बुधवार १०:३९
1.6K
shares
अर्घाखाँची : अर्घाखाँचीमा १४ वर्षीया नातिनीलाई यौन धन्दामा लगाउने हजुरआमा सहित यौन कार्यमा संलग्न एक युवक पक्राउ परेका छन् ।
सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया किशोरीलाई करणी गरेको आरोपमा शितगंगा नगरपालिका-१४ का २२ वर्षीय ओमप्रकाश न्यौपाने पक्राउ परेका हुन् । उनले किशोरीकी हजुरआमा नाता पर्ने महिलासँगको मिलेमतोमा किशोरीलाई विगत एक महिनादेखि करणी गर्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ । यहि असार ५ गते किशोरीले प्रहरीलाई उजुरी गरेपछि घटना बाहिरिएको हो ।
प्रहरीका अनुसार गएको जेठ १ गते राति ती महिलाले अभिभावकलाई कुनै जानकारी नगराई विभिन्न प्रलोभनमा पारेर किशोरीलाई घरबाट लिएर गएकी थिइन् । घरबाट लगेपछि उनले किशोरीलाई युवकको जिम्मा लगाएकी थिइन् ।
त्यसयता युवकले आफ्नो घरमा र जंगलमा समेत लगेर किशोरीलाई पटक-पटक करणी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अम्बरबहादुर थापाले जानकारी दिए ।
त्यसबापत युवकले किशोरी र आरोपी महिलालाई रुपैयाँ समेत दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका युवक र महिलाबिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ असार ८ बुधवार १०:३९



















