अदालतबाट छुटे लगत्तै विप्लवको विद्यार्थी संगठनका अध्यक्ष पक्राउ

वि.सं.२०७६ जेठ ३ शुक्रवार १७:५५
903
shares
काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका विद्यार्थी संगठन अध्यक्ष चिरञ्जीवी ढकाल साधारण तारिखमा छुटे लगत्तै पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले साधारण तारिखमा छोड्ने आदेश दिए लगत्तै अदालत परिसरबाटै ढकाल पक्राउ परेका हुन् ।
केही दिन अघि अनामनगरबाट पक्राउ परेका ढकाललाई राजद्रोहको मुद्दामा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट पुगेको प्रहरी टोलीले अदालतको गेटबाटै पक्राउ गरेको हो । उनीसँगै रिहाइका लागि पुगेका ऋषि कट्टेलको पार्टीका विद्यार्थी संगठन अध्यक्ष प्रविन मिश्रसहित दुई विद्यार्थी नेतालाई पक्राउ परेका छन्। ढकाललाई अदालतले साधारण तारिखमा राख्न आदेश दिएको थियो । ढकालको मुद्दामा बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले उनीसहित तीनजनालाई अदालतको गेटबाटै प्रहरीले समातेर लगेको जानकारी दिए ।
ढकालको विषयमा रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ । उक्त रिट विचाराधिन अवस्थामा छ ।

वि.सं.२०७६ जेठ ३ शुक्रवार १७:५५