पानीको माग गर्दै रुद्री पुजा
वि.सं.२०७७ साउन २६ सोमवार १८:३३
2.2K
shares
रामेछाप: देशभरी पानी परेर बाढी पहिरोले क्षति गरिरहेको बेला रामेछापको मन्थलीका किसानहरुले भने पानीको माग गर्दै रुद्री पुजा गरेका छन् ।
साउन महिना वित्न लाग्दा पनि पानी नपरेपछि रोपाई गर्न नपाएका यहाँका किसानहरुले आज रणजोर खोलामा रुद्री पुजा गरेर पानीका लागि भगवानसंग प्राथाना गरेका हुन् ।
अघिल्लो दिन खोलाको शिरमा रहेकी देविको मन्दिरमा समेत किसानहरुले पुजाआजा गरेका थिए ।
आकासे पानीको भरमा खेति गर्दै आएका आफुहरुले पानी नपरेपछि निराश हुँदै पानी पर्ने आशामा पुजाआजा गरेको स्थानीय किसान बासु सुवेदीले बताउनु भयो ।
यस बर्ष पानीको अभावमा रोपाईं गरेका केहि खेतहरुमा पनि रोपाईंपछि पानी लगाउन नपाएकाले खेत नै पट्पटी फुट्न थालेको छ ।
गाउँका सवैजना जम्मा भएर खोलामा गइ पुजा गरेको मन्थली १ का किसान शिवप्रसाद सुवेदीले बताउनु भयो । पुजामा १ सय ५० परिवार किसानहरुको सहभागिता रहेको थियो ।
पानीको अभावमा रामेछापको मन्थली मात्र होइन जिल्लाका अन्य गाउँहरुमा पनि आकासे पानीको भरमा खेति गर्दै आएका यहाँका खोलाहरुमा मुल फुट्न नसक्दा रोपाइ हुन पाएको छन ।
वि.सं.२०७७ साउन २६ सोमवार १८:३३



















