चीनबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो, सबै जनालाई खरिपाटी पुर्याइयो, १५ दिन क्वारेन्टाइनमा रहने
वि.सं.२०७६ फागुन ४ आइतवार ०७:४९
1.4K
shares
काठमाडौं: चीनको वुहान शहरबाट ल्याइएका १ सय ७५ जनालाई भक्तपुर खरिपाटीमा पुर्याइएको छ । बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका सबै १ सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि भक्तपुरको खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा पुर्याइएको हो ।
उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर खरिपाटी पुर्याएका छन । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरु सबैको स्वास्थ्य परिक्षण गरिएको थियो । उनीहरुलाई कम्तिमा २ साता खरिपाटीस्थित क्वारेन्टाइनमा नै राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आवेदन दिएका १ सय ८५ मध्ये १० जना चीनमा नै रोकिएका छन । ६ जनाको स्वास्थ्यमा समस्या आएपछि वुहानमै रोकिएका हुन भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेकाले नेपाल नआएको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाल आउनेमा एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार छन । चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिला नेपाल आएका हुन ।
बुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको जहाज आज बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो ।
– योन्डोन तामाङ
वि.सं.२०७६ फागुन ४ आइतवार ०७:४९


















