सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज उपाधिका लागि आज मच्छिन्द्र र आर्मी आमने सामने हुँदै
वि.सं.२०७६ फागुन ३ शनिवार ०९:०२
1.3K
shares
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगको उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मी आमने सामने हुदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे १ बजे दुबै टोली पहिलो पटक उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।
दुईबीचको भिडन्त फाइनल सरह रहने भएपछि प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ । लिग लिडर विभागीय टिम आर्मीले बराबरी खेले मात्र पनि लिगको उपाधि जित्नेछ भने मच्छिन्द्रका लागि जित्ने पर्ने दबाब रहेको छ । तालिकामा एक अंकले अगाडि रहेको आर्मीले मोफसलको प्रतियोगितामा दर्जन बढी उपाधि जितेको भएपनि ए डिभिजन लिगको उपाधि जित्न सकेको छैन । त्यसैले मछिन्द्र विरुद्धको अन्तिम खेलमा आर्मी इतिहास रच्न चाहन्छ ।
यता यसै सिजनको उपाधि जित्नका लागि साविक विजेता मनाङ मर्स्याङ्दीबाट कप्तान विराज महर्जनसहित ७ खेलाडी अनुबन्ध गरेको मछिन्द्रले लिगमा मात्र एक हार व्यहोरेको छ । तर, गत सिजनको खराब प्रदर्शनका कारण मछिन्द्रले एक अंक सुरुवातबाटै गुमाएको छ । त्यहिँ गुमाएको अंकले मछिन्द्र आर्मीसँग पछि रहेको हो । लिगका १२ खेलमा दुबै टोलीले ९ जित र दुई खेलमा बराबरी र एक हार व्यहोरेका छन् ।
मच्छिन्द्रले अन्तिम खेलमा राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगरलाई ल्याएपछि टोली झन बलियो देखिएको छ । अनुशासन विपरित काम गरेको भन्दै एन्फाको तीन महिने प्रतिबन्धबाट फुकुवा हुँदै उनी लिगको पहिलो खेल त्यो पनि निकै महत्वपुर्ण खेलमा मैदानमा उत्रदैछन ।
वि.सं.२०७६ फागुन ३ शनिवार ०९:०२




















