कजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि
वि.सं.२०८० जेठ १४ आइतवार १८:१३
1.8K
shares
काठमाडौं: काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनल खेलमा कजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारतले उपाधि जितेको हो ।
पहिलो सेट २५-१५ ले जितेको भारतले प्रतिस्पर्धात्मक दोस्रो सेटमा काजकिस्तानलाई २५-२२ ले पछि पार्यो । प्रतियोगितामा बलियो मानिएको काजकिस्तान त्यसपछि कुनैपनि समय खेलमा फर्किन सकेन । तेस्रो सेट १८-२५ ले गुमाउँदै उपाधि भारतलाई सुम्पियो ।
जारी प्रतियोगितामा भारतले सेमिफाइनलमा उज्वेकिस्तान र काजकिस्तानले नेपाललाई हराउँदै फाइनल पुगेका थिए । भारतले जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि उचालेको हो ।

घरेलु टोली नेपालले भने तेस्रो स्थानमा चित्त बुझाएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आजै भएको खेलमा उज्वेकिस्तानमाथि ३–१ को सेटमा जित निकाल्दै नेपाल तेस्रो बनेको हो ।
पहिलो सेट २५–२० ले गुमाएको नेपालले दोस्रो, तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै खेलमा पकड जमाएको हो । नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जित निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।
जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता थियो । हरेक ४ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा नेपाल, भारत, कीर्गिस्तान र बंगलादेश थिए भने, समूह ‘बी’ मा माल्दिभ्स, श्रृलंका, उज्वेकिस्तान र काजकिस्तान थिए ।
वि.सं.२०८० जेठ १४ आइतवार १८:१३




















