एसीसी प्रिमियर कप: अन्तिम खेलमा नेपालले आज कतारसँग खेल्दै
वि.सं.२०८० वैशाख १४ बिहीवार ०७:२३
1.4K
shares
काठमाडौं: एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा घरेलु टोली नेपाल आज कतारसँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
समूह ‘ए’ मा रहेको नेपालले समूह विजेता बन्दै सेमिफाइनल खेल्न कतारलाई हराउन पर्नेछ । यसअघि नै सेमिफाइनल पुगिसकेको नेपालले आज कतारलाई हराए ७ अंकमा समूह विजेता बन्नेछ ।
खेलमा अंक बाँड्नुपर्ने अवस्थामा पनि नेपाल समूह विजेताको हैसियतमा फाइनल प्रवेशका लागि खेल्नेछ । तर हारेको अवस्थामा भने नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल खेल्नेछ ।
समूह ‘ए’ बाट ओमानले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ ।
आजै मूलपानी मैदानमा हुने हङकङ र कुवेतबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । यो खेलसँगै नेपालले सेमिफाइनलमा खेल्ने टोलीको टुंगो लाग्नेछ । समूह ‘बी’ बाट यूएईले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछन् । दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।
प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ । शीर्ष तीनमा रहने टोलीले भने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।
वि.सं.२०८० वैशाख १४ बिहीवार ०७:२३




















