गगन-शेखर समूहले केन्द्रीय सदस्यको भेला बोलाउने
वि.सं.२०७९ पुस १३ बुधवार १७:२६
2K
shares
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण केन्द्रसहित सातै प्रदेशबाट कांग्रेस सत्ता बाहिर रहनुपर्ने अवस्था आएपछि पार्टीमा तीव्र विवाद सुरु भएको छ ।
संस्थापन पक्षको एकलौटी सोच र व्यवहारका कारण कांग्रेस पहिलो पार्टी भएर पनि प्रतिपक्षमा सीमित हुनु परेपछि गगन-शेखर समूहले छलफल सुरु गरेको छ ।
बुधबार भएको भेलामा इतर समूहले संस्थापन पक्षको एकांकी र सत्ता लिप्साकै कारण कांग्रेस सत्ता बाहिर पुगेको निष्कर्ष निकालेको छ ।
आजको बैठकमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईं लगायत सहभागी थिए ।
इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न केन्द्रीय सदस्यको भेला बोलाउने भएको छ । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न अर्को भेला बोलाउने भएको हो ।
कांग्रेस केन्द्रीय समितिको बैठक २२ पुसमा बस्दैछ । त्यसैले इतर समूहको बैठक केन्द्रीय समितिको बैठकअघि बस्ने तय भएको हो ।
वि.सं.२०७९ पुस १३ बुधवार १७:२६




















