सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
वि.सं.२०७९ पुस १० आइतवार ११:५१
1.8K
shares
काठमाडौं: नयाँ सरकार गठनको लागि अन्तिम कसरतमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणमा सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सहमति जुटाउन बालुवाटारमा बैठक सुरु भएको हो ।
देउवा र प्रचण्डबीच ‘वान टु वान’वार्तापछि सत्ता गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा देउवा, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी रहेका छन् ।
गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्याएका थिए । प्रचण्डले यो गठबन्धन नयाँ नभई चुनावअघिकै निरन्तरता भएकाले सरकारको नेतृत्व गर्ने पालो आफ्नो भएको दाबी गरेका थिए ।
चुनावअघि २३ सिटमा ‘खुम्चिएको’ कांग्रेसलाई प्रधानमन्त्री दिएकाले यसपटक आफ्नो नेतृत्वलाई स्वीकार गर्नुपर्ने अडान उनले सुनाएका थिए । तर, सफलतापूर्वक आफूले चुनाव गरेको र पहिलो पार्टी भएकाले कांग्रेस नेतृत्वमै सरकार बन्नुपर्ने अडान देउवाले राखेका थिए ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन् । बहुमत पुर्याउने दलले आइतबार ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ ।
धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन् ।
वि.सं.२०७९ पुस १० आइतवार ११:५१




















