प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुन आज डडेल्धुरा जाँदै
वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०७:५१
3.2K
shares
काठमाडौं: निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुने भएका छन् ।
उनी आज काठमाडौंबाट डडेल्धुरा जाने कार्यक्रम तय भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौती थपिएको विश्लेषणका आधारमा देउवा सबैतिर छाडेर त्यता जान लागेका हुन् ।
मंसिर २ गतेबाट मौन अवधि शुरु हुँदैछ । प्रधानमन्त्री देउवा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुँदा अन्यत्र तय भएका कार्यक्रमहरुमा पार्टीका अरु नेतालाई जान भनेर उनले नै आदेश दिएका छन् ।
देउवाको निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट प्रतिष्पर्धा गरिरहेका युवा उम्मेद्वार सागर ढकालले निकै चर्चा बटुलिसकेका छन् । उनको प्रचार र खटाइबाट आत्तिएका देउवाका प्रचारकहरुले प्रहरी शक्तिको दुरुपयोग गरी ढकाललाई माइकिङसमेत गर्न नदिएर अवरोध खडा गरेका थिए ।
यो विषय सामाजिक सन्जालमा भाइरल नै भएको थियो र देउवाकै बद्नामी बढी भएपछि प्रहरी प्रशासन पछि हट्नु परेको थियो । सोही निर्वाचन क्षेत्रबाट देउवाकै पूर्व सहयोगी कर्ण मल्ल नेकपा एमालेको समेत सहयोगमा नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिष्पर्धामा छन् ।
वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०७:५१



















