ढुंगा खानीमा पहिरो जाँदा २ को मृत्यु, धेरै नै पुरिएको आशंका
वि.सं.२०७८ फागुन १५ आइतवार १९:०८
1.5K
shares
काभ्रेः ढुंगा खानीमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ भने कयौ पुरिएको आशंका गरिएको छ । काभ्रेको बनेपा नगरपालिका–१४ स्थित आशापुरी खनिज उद्योगमा आइतबार पहिरो जाँदा घटनास्थलमै २ जनाको मृत्यु भएको हो भने कैयौँ पुरिएको आशंका गरिएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेले उद्धारका लागि कार्यालयबाट प्रहरी खटिएको भएपनि मृत्यु हुनेहरुको यकिन विवरण भने आउने बाँकी रहेको बताएको छ। प्रहरीले कैयौँ मानिस पुरिएको हुन सक्ने आशंका गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार घाइते अवस्थामा उद्धार गरिएका २ जनाको भक्तपुरको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको र प्रहरी टोली उद्धारमा खटिएको जानकारी दिए । घटनाका सम्बन्धमा सबै बिबरण आईसकेको छैन ।
डिएसपी खतिवडाले ढुङ्गा खानीमा पहिरो जाँदा स्काभेटर, टिपर लगायतमा समेत क्षति पुगेको जानकारी दिए। स्थानीय लालमान श्रेष्ठले तलबाट एक्स्काभेटर तथा डोजरले ढुंगा निकाल्दै जाँदा ओडारजस्तो बनेर पहिरो गएको बताए।
घटनास्थलमा प्रहरीसँगै स्थानीयहरू उद्धार तथा पुरिएका सवारीसाधन निकाल्न खटिरहेका छन्।
वि.सं.२०७८ फागुन १५ आइतवार १९:०८




















