म्यानमार अदालतले सुनायो आङसाङ सूचीलाई चार वर्षको जेल सजाय
वि.सं.२०७८ मंसिर २० सोमवार १४:२२
1.8K
shares
एजेन्सीः म्यानमार अदालतले लोकतन्त्रवादी नेतृ आङसाङ सूचीलाई चार वर्षको जेल सजाय सुनाएको छ ।
उनलाई सहमतीलाई भड्काउने र प्राकृतिक विपत्ति अन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो ।
उनीविरुद्ध ११ वटा आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरिएको थियो । तर, उनले आफूविरुद्धका आरोपहरुको खण्डन गरेकी छिन् ।
गत फेब्रुअरीमा म्यानमार सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गर्नुअघि नेतृ सूचीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् ।
सूचीको दल एनएलडीले बहुमत ल्याएको उक्त संसदीय चुनावमा धाँधली भएको भन्दै सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गरेको थियो ।
त्यसयता सूची आफ्नो घरमै नजरबन्दमा छिन् भने उनीविरुद्ध दर्जनौं अभियोग लगाइएको छ ।
सरकारी प्रवक्ताले एएफपी समाचार एजेन्सीलाई बताए अनुसार आङसाङ सुचीलाई उक्साएको आरोपमा दुईवर्ष र कोभिड–१९ नियम उल्लङ्घन गरेकोमा दुई वर्ष सजाय दिइएको छ ।
प्रवक्ता जाव मिन तुनले पूर्व राष्ट्रपति विन मिन्टलाई पनि सोही आरोपमा चार वर्षको जेल सजाय भएको बताए ।
म्यानमारको सेनाले आङ सान सुकीविरुद्ध ल्याएको दर्जनौं मुद्दामध्ये सोमबारको फैसला पहिलो हो । नोबेल शान्ति पुरस्कार विजेता नेतृ सूची विरुद्धका अन्य मुद्दाहरूमा भ्रष्टाचारको धेरै आरोपहरू, राज्य गोप्य ऐनको उल्लङ्घन, र टेलिकम कानून जसमा उनीविरुद्ध फैसला भए एक शताब्दीभन्दा बढी जेल सजाय हुन्छ ।
वि.सं.२०७८ मंसिर २० सोमवार १४:२२




















