आईईपीद्वारा विश्व शान्तिको वार्षिक रिपोर्ट सार्वजनिक, नेपाल १२ स्थान माथि, आइसल्यान्ड सबैभन्दा शान्तिपूर्ण देश

वि.सं.२०७६ मंसिर ६ शुक्रवार ०८:३७
864
shares
काठमाडौं: ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ आईईपीले विश्व शान्तिको २०१९ को वार्षिक रिपोर्ट सार्वजनिक गरेको छ ।
आईईपीको यो १३औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो जसमा यसले १ सय ६३ स्वतन्त्र राष्ट्रहरुमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायत २३ संकेतकहरुको आधारमा मूल्याङ्कन गरि सूचित गर्ने गरेको छ । यस्तोमा पाँच वर्षपछि पहिलोपटक विश्व शान्तिको स्तरमा सुधार आएको रिपोर्टले देखाएको छ ।
२०१९ को रिपोर्ट अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको पाइएको हो । सूचीमा आइसल्यान्ड पहिलो स्थान कायम राख्न सफल भएको छ जहाँ अपराधको स्तर अत्यन्तै कम र सुरक्षाको उच्च अवस्थामा रहेको बताइएको छ । त्यस्तै दोस्रोमा न्यूजील्यान्ड त्यसपछि पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष दशमा छन् । स्वीट्जरल्यान्ड ११ मा छ भने दक्षिण एसियाबाट भूटान १५ र मलेशिया १६ अनि ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा अनि दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ स्थानमा रहेका छन् ।
शान्तिमा सबैभन्दा अगाडि रहेको युरोपेली क्षेत्र अन्तर्गत बेलायत पनि यो वर्ष पाँच स्थान अगाडि ४५ मा आएको छ । यता अमेरिका पनि चार स्थान तल १ सय २८ औँ स्थानमा पुगेको छ । यो पटकको सूचीमा दक्षिण एसियाली क्षेत्रमा भने ठूलो सुधार देखिएको छ जसका लागि नेपाल, पाकिस्तान र भूटानलाई श्रेय दिइएको हो ।
नेपाल भने यो वर्ष १२ स्थानले माथि आउँदै ७६ मा पुगेको छ । दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण मुलुक हो । नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ । तर यता भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष चार स्थान तल १ सय ४१ मा पुगेको हो । चीन पनि नेपालभन्दा तल १ सय १० औँ स्थानमा मध्य शान्तिपूर्ण क्षेत्रमा परेको छ । यो वर्ष अफगानिस्तान सिरियालाई प्रतिस्थापन गरि विश्वकै सबैभन्दा अशान्त देश बन्न पुगेको छ ।

वि.सं.२०७६ मंसिर ६ शुक्रवार ०८:३७