अधुरै रह्यो रोनाल्डोको विश्वकप जित्ने सपना
वि.सं.२०८३ असार २३ मंगलवार ११:३८
357
shares
काठमाडौं: जारी फिफा विश्वकप २०२६ अन्तर्गत स्पेनसँग अन्तिम १६ को खेलमा १-० गोल अन्तरको पराजयसँगै पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः आँसुका साथ समाप्त भएको छ ।
सोमबार राती अमेरिकाको डलासमा सम्पन्न प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयमा स्पेनका लागि मिकेल मेरिनोले गरेको निर्णायक गोलले क्वार्टरफाइनलमा पुर्यायो भने पोर्चुगलको विश्वकप जित्ने सपना चकनाचुर बन्यो ।
पाँच पटकका बालोन डीओर विजेता, पाँच पटकका च्याम्पियन्स लिग विजेता तथा सन् २०१६ को युरोपियन च्याम्पियन रोनाल्डोले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म विश्व कीर्तिमानी ९७६ गोल गरेका छन् । उनी लगातार ६ वटा विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी पनि हुन् । तर विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने सपना भने अधुरो नै रह्यो ।
यस विश्वकपमा रोनाल्डोलाई हरेक खेलमा सुरुआती रोजाइमा राख्ने निर्णय पोर्चुगलका लागि सही थियो वा थिएन भन्ने विषयमा बहस जारी छ । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले भने प्रतियोगितापछि पदबाट अलग हुने घोषणा गर्दै रोनाल्डोको खुलेर प्रशंसा गरे । उनले भने, ‘विश्वकप जित्ने उनको सपना थियो र त्यसका लागि उनले अन्तिमसम्म उदाहरणीय समर्पण देखाए । उनले टोलीका लागि सक्दो योगदान गर्ने प्रयास गरे । रोनाल्डो केवल महान् फुटबलर मात्र होइनन्, उत्कृष्ट व्यक्तित्व पनि हुन् ।’
सन् २००६ को विश्वकपमा सेमिफाइनलसम्म पुग्नु नै रोनाल्डोको विश्वकप करियरको उत्कृष्ट उपलब्धि रह्यो । करिब दुई दशक लामो विश्वकप यात्रामा उनले अनेक कीर्तिमान बनाए पनि विश्व च्याम्पियन बन्ने उनको बहुप्रतीक्षित सपना भने अधुरै हुन पुग्यो ।
सन्यासबारे रोनाल्डो: हतारमा कुनै पनि निर्णय लिने छैन

पोर्चुगल फिफा विश्वकप २०२६ बाट बाहिरिएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले सन्तुष्ट भावका साथ विश्वकपबाट बिदा भएको बताएका छन् । स्पेनसँगको हारपछि उनले विश्वकपबाट बाहिरिनु पर्दा आफु दुःखी भएको बताए ।
‘यसरी विश्वकपबाट बाहिरिनु पर्दा म दुःखी छु । मैले आफ्नो सबैथोक सुम्पिएँ । मैले आफ्नो उत्कृष्ट प्रदर्शन दिएँ र म सफा मनका साथ बिदा हुँदैछु,’ उनले भने । सन्यासबारे रोनाल्डोले हतारमा कुनैपनि निर्णय नलिने स्पष्ट पारे । उनले भने, ‘हो यो मेरो अन्तिम विश्वकप थियो, तर अब मसँग विचार गर्न र परिवारसँग समय बिताउने मौका हुनेछ । म हतारमा कुनै पनि निर्णय लिने छैन ।’
वि.सं.२०८३ असार २३ मंगलवार ११:३८




















