[addthis tool="addthis_inline_share_toolbox"]

बैनी, हामीले अर्जुन खालिङलाई भुलेका छैनौं !


विषय प्रवेश
अर्जुन खालिङको अकल्पनीय मृत्यु पछि किरात राई लेखक सङ्घको अध्यक्षको भार मलाई आईलाग्यो । यतिबेला सिङ्गो लेखक सङ्घ ‘साकेला साहित्य महोत्सव’को तयारीमा जुटिरहेको छ । महोत्सवलाई कसरी उपलब्धीमुलक र उद्देश्यमुलक बनाउने ? अध्यक्षको हैसियतले मेरो नि ध्यान त्यतै केन्द्रित् छ । गत डिसेम्बर ६ तारिखका दिन तारा नुमिहाङ बैनीको म्यासेज आयो । ‘दाजु सेवा ! आरामै हुनुहोला, मंशिर २९ गते आउन लाग्यो । अर्जुन खालिङको बारेमा केही प्रोग्राम गर्ने कि ?’ बैनीको म्यासेजले झसङ्ग भएँ । किरालेसङ्घको कार्यक्रमले व्यस्त भएको बहाना बनाएर पन्छिनँ खोजें । बैनीले अझ थपिन्, ‘मरेर गएपछि त सबै सकिँदो रहेछ÷सबैले भुल्दै गइँदो रहेछ है दाजु ?’ के लेख्ने ? के प्रतिउत्तर दिने ? नाजवाफ भएँ । बैनीको शान्त प्रश्नले मेरो मनमा तरङ्ग ल्याईदियो । त्यसयता बैनीलाई जवाफ दिन सकेको छैन । प्रश्न, प्रतिप्रश्न र जिम्मेवारीबोधले चुपचाप÷चुपचाप छु । हिजो अर्जुन खालिङ किरात राई लेखक सङ्घको होनाहार अध्यक्ष थिए । आफ्नो अध्यक्ष दिवंगत भएको यत्तिका वर्ष बितिसक्दा पनि किरालेसङ्घले कुनै कार्यक्रम किन गर्न सकेनँ ? सबैभन्दा बढी मलाई यो प्रश्नले हिर्कायो ? वर्तमान अध्यक्षको नाताले कार्यक्रम गर्ने सबैभन्दा बढी जिम्मेवारी मेरो हुन आउँथ्यो÷आउँछ । तर म आफै पो गैह्र जिम्मेवार भएँ कि ? तारा बैनीले भनेझैं भुल्दै पो गयौं कि ? ढिलासुस्ती र कमीकमजोरीहरू अवस्य भएकै छन्, तर बैनी, हामीले अर्जुन खालिङलाई भुलेका छैनौं । अर्जुन खालिङको सपनालाई साकार पार्न भविष्यमा अझ हामी डट्नेछौं । यसै लेख मार्फत् म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । आफ्ना दिवंगत अध्यक्षको नाममा यसपटक कुनै कार्यक्रम गर्न नसके पनि उहाँको साहित्य र कलाको थोरै चर्चा गर्दै सम्झन चाहन्छु । दिवंगत मृतात्माको चीरशान्तीको कामना गर्दछु ।

 

साहित्यको चर्चा
अर्जुन खालिङको साहित्य सृजनाको कुरा गर्नु बित्तिकै सबैभन्दा बढी मलाई हिट गरेको उनको एउटा गीतको संझना भइहाल्छ । जुन गीत वरिष्ठ गायक तथा सङ्गीतकार जितेन राईको संगीत र तारा नुमिहाङको स्वरमा रेकर्ड गरिएको छ । उनको सृजना मध्ये सबै भन्दा बढी मलाई छोएको सृजना हो यो । कला, शिल्प, विम्व र विचार हरकोणबाट यो गीत उत्कृष्ट लाग्छ ।

अर्जुन खालिङ लेख्छन् ः–

फेंगा बुन्छु, खाडी बुन्छु, कुरा बुन्दिनँ

आगो बन्छु, पानी बन्छु, छुरा बन्दिनँ ।

राई जातिको विशेषतः महिलालाई बुझ्न यी दुई लाइन गीत काफी छ । किरातीनी÷राईनी महिलाको इतिहास, संस्कार, संस्कृति र स्वभावलाई सरल ढङ्गले सर्लक्कै खालिङले यस गीतमा बेजोड ढङ्गले उनेका छन् । खालिङले लेखेझैं राईनी महिलाहरू हिजो इतिहास देखि नै खाडी बुन्छन् । फेंगा बुन्छन् । पसिना बगाउँछन् । आफ्नै सुतिथाती गर्दै दुःखसुख जिउँछन् । तर जालझेल गर्ने, कुरा बुन्ने, अरुलाई लडाउने÷भिडाउने काम पटक्कै गर्दैनन् । अथवा कुरा बुन्ने काम किराती महिलाको स्वभाव र संस्कार हैन । बरु अनावस्यक कुरा बुन्ने, षड्यन्त्र गर्ने विरुद्ध आगो बन्न तयार हुन्छन् । जालीझेलीलाई देखि सहँदैनन् । सह–अस्तित्वमा मिलेर बस्न पानी बन्न तयार हुन्छन् । तर मुखमा रामराम बगलीमा छुरा कहिल्यै बोक्दैनन् । राईनी महिलाहरूको स्वभाव र संस्कारको साङ्गोपाङगो चित्र यो गीतले चित्रण गरेको छ । म को हुँ ? मेरो इतिहास, संस्कार, संस्कृति र स्वभाव कति उन्नत र सभ्य छ ? आफूलाई चिन्न र आफ्नो असल संस्कार प्रति गर्व गर्न यो गीतले प्रेरित् गर्छ । राई जातिको यथार्थ केलाउँदै स्वाभिमान उठाउने काम गर्छ । आफूलाई नचिन्ने, आफ्नो असल पक्षप्रति गर्व गर्न नसक्नेले के गर्न सकिन्छ र ? किराती राई जातिको प्राज्ञिक सत्ता निर्माण गर्न यस्ता खाले शक्तिशाली सृजनाको महत्वपूर्ण योगदान रहन्छ । अर्जुन खालिङ साहित्यको माध्यमबाट राई जातिको प्राज्ञिक सत्ता निर्माण गर्न चाहान्थे । चिण्डो चिन्तन मार्फत् विचारको केन्द्र निर्माण गर्न चाहान्थे । खालिङका सूर्य डढीरहेछ निरन्तर र गोयाङको सुगन्ध नामक दुई कविताकृति प्रकाशित छ भने दर्जन बढी रेकर्डेड गीत छन् ।

कलाको कुरा
वर्तमान नेपाली कला जगत हिमालको, पहाडको, खोलानालाको, हिन्दुहरूको देवीदेउताको चित्र पोत्नमैं रमाइरहेको बेला अर्जुन खालिङले सुङ्गुरको चित्र पोत्न शुरु गरे । कलामा चिण्डो ठडाए । घ्याम्पो बनाए । तीनचुल्हा गाडे । परम्परागत शैलीमा चलिरहेको नेपाली कला क्षत्रमा अर्जुन खालिङले किराती कला प्रवेश गराए । अर्जुन खालिङको कलामा खोटाङको चुइचुम्माली चाम्लिङ राई धजुरा र बिनायो भिरेर ढोल बजाइरहेको भेटिन्छ भने ढोलको आवाज सुनेर भोजपुरको बान्तावा राईनी शीरमा खुर्पे जून बोकेर ट्याम्के डाँडामा साकेला नाचिरहेको देखिन्छ । यता सोलुखुम्बुको कुलुङ राई विजुवा मुन्दुम फलाकिरहेको सुनिन्छ भने उता ओखलढुंगाको बिमारी बाहिङ रार्ई सञ्चो भएर तङ्ग्रीएकोे देखिन्छ । आर्जुन खालिङ राई जातिको कलालाई विश्वव्यापिकरण गर्न चाहान्थे । राई जातिको कलालाई दर्शनमा बाँध्न चाहान्थे । तर दुःखको कुरा उनी आफै अल्पायुमै मरे ।

अन्तमा
अर्जुन खालिङ डान्स गर्न माहिर थिए । तर उनलाई साकेला नाच्न आउँदैन थियो । साकेला शिली सिकेर टुँडिखेल हल्लाउन मन छ भन्थे । तर साकेला शिली नसिकी÷ननाँची अस्ताए । साकेला आउँछ, जान्छ । तर अर्जुन खालिङ अब कहिल्यै आउने छैनन् । ‘सोल्टिनी बिनाको साकेला, लास्टै खल्लो यो बेला…तारा बैनीकै स्वरमा अर्जुन खालिङको यो गीत गतसाल रेकर्ड भएको छ । उनकै गीत सापट लिएर बिदा हुन्छु । ‘खालिङ बिनाको साकेला, लास्टै खल्लो यो बेला ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *