चीन र भारतका सैनिकबीच सिक्किम क्षेत्रमा फेरि झडप

२०७७, १२ माघ सोमबार ११:५६

काठमाडौं: चीन र भारतका सैनिकहरूबीच सिक्किम क्षेत्रमा फेरि झडप भएको छ ।
झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको सैन्य स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ ।
चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यमको दाबी छ ।
अहिले झडप भएको स्थानमा अवस्था तनावपूर्ण भए पनि स्थिर रहेको बताईएको छ ।
यसअघि गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।
पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो ।
नाकु लामा झडप भएकोबारे चिनियाँ पक्षले भने कुनै जानकारी दिएको छैन ।
Leave a Reply