[addthis tool="addthis_inline_share_toolbox"]

आजको साहित्यिक पत्रकारिता


नेपाली पत्रकारिताको इतिहास खोज्नेहरूले त्यसको चुरो फेला पार्न साहित्यिक पत्रकारितासम्म पुग्नैपर्छ । त्यहाँसम्म नपुगिकन वास्तविक जरो फेला पर्दैन ।

यसो भनौँ साहित्यिक पत्रकारिताभन्दा अगाडि नेपाली पत्रकारिताको चुरो पुग्न सकेको छैन । अर्थात् नेपाल र नेपाली भाषाको सन्दर्भमा साहित्यिक पत्रकारिताको प्रारम्भ नै नेपाली पत्रकारिताको जग हो ।

साहित्यिक पत्रकारिता सुरु भएको डेढ दशकपछाडि मात्र समाचारमूलक पत्रकारिता सुरु भएको इतिहास बनेर सबैको आँखाअगाडि प्रमाण सहित् ठिङ्ग उभिई रहेको छ । पृथक आँखाले हेर्दा ‘गोर्खा भारत जीवन’ साहित्यिक पत्रकारिताको र ‘ गोरखा पत्र’ समाचारमूलक पत्रकारिताका नेपालका आरम्भ विन्दु हुन् ।

आजसम्मको खोजीमा भेटिएको तथ्यअनुसार साहित्यिक पत्रकारिताको इतिहास डेढ सय वर्ष निकट छ । यसले विगतको त्यो कालखण्डमा जसरी हिँड्नुपरेको थियो आज पनि त्यो हिँडाइमा खासै देखिने गरी भिन्नता वा परिवर्तन आउन सकिरहेको छैन । अर्थात् हिजोको अवस्थाको पछि–पछि आजको परिस्थिति लागिरहेको छ ।

हुन त हिजो र आजको समयमा आकाश पातालको फेर बदल छ । विचार, सोच, चिन्तन र मूल्य–मान्यतामा अनेक पृथकाता देखिएका छन् । परिवर्तन बाटो पछ्याएर अगाडि बढेको संकेत गर्नेहरूको कुनै कमी छैन । मूल्यांकन हिजोलाई हिजो र आजलाई आजको आँखाले गर्दा मात्र विषयको गाम्भीर्यता समय सापेक्ष हुन सक्छ । यथार्थको कसी पनि यही नै हो ।

 

आजसम्मको खोजीमा भेटिएको तथ्यअनुसार साहित्यिक पत्रकारिताको इतिहास डेढ सय वर्ष निकट छ । यसले विगतको त्यो कालखण्डमा जसरी हिँड्नुपरेको थियो आज पनि त्यो हिँडाइमा खासै देखिने गरी भिन्नता वा परिवर्तन आउन सकिरहेको छैन । अर्थात् हिजोको अवस्थाको पछि–पछि आजको परिस्थिति लागिरहेको छ ।

 

समयले जतिसुकै कोल्टे फेरेको वा त्यसमा परिवर्तन आएको भए पनि साहित्यक पत्रकारितालाई हेर्ने दृष्टिकोण वा विचारमा अलिकति पनि तलमाथि भएको छैन । अझै गहिराइमा प्रवेश गर्ने हो भने प्रतिदिन खस्कँदै गएको आभाष हुन्छ । हिजो समाज सुधारदेखि सामाजिक परिवर्तन गर्नमा समेत खेलेको भूमिकालाई आज कतैबाट पनि सम्झने झिनो मसिनो प्रयास पनि भइरहेको देखिँदैन ।

बरु साहित्यिक पत्रकारिता केही होइन र यसले इतिहासको कुनै कालखण्डमा कतै योगदान गरेकै छैन भन्नेजस्ता सोच सचेत ठानिएका केही मानिसमा विकास हुँदै गएको देखिन्छ । यो तिनीहरूको एकल चिन्तन भए पनि त्यसले सामान्य सोचका मानिसमा पर्ने प्रभावलाई नकार्न सकिन्न । हुन त यो सही चिन्तन हैन र सकारात्मक सोच पनि हैन र यसलाई कुनै हालतमा आत्मसात गर्न पनि सकिन्न ।

यो कुरा सुटपाइन्ट लाउने छोराले दौरासुरुवाल लगाउने बाउलाई उनी भन्दा आफू आधुनिक जस्तै हो भनेर बुझ्न सकिन्छ । अन्यथा साहित्यिक पत्रकारितालाई पत्रकारिता नै नभएको दृष्टिकोण कसैले पनि अँगाल्नु सकारात्म चिन्तन हुँदै हैन । हो यसका पनि कमीकमजोरी होलान्, सच्याउने काम पनि गर्नु पर्छ । तर त्यसो भन्दैमा इतिहासलाई नै अस्वीकार गर्नुचाहिँ राम्रो हुँदै हैन ।

तर, अग्रज ठानिएका र नेतृत्व तहमा समेत पुगिसकेकाहरूले यसलाई टेढो आँखाले हेर्नु र विपक्षमा धारणा राख्नु भनेको अस्तित्व अस्वीकार गर्नु हो । यसले मौकामा चौका हान्न पाए हामी आफूले आफैलाई पनि बिर्सन्छौँ भन्न दृष्टान्त बिर्साउन मदत गर्छ । विचारमा बहस गर्दै सत्यको पछि हिँड्नेहरूले साहित्यिक पत्रकारिताको अस्तित्वलाई अस्विकार गर्नु आवश्यक छैन र गरेको पनि देखिन्न ।

अग्रज वा जानकारहरूको काम बाटो देखाउनु र हिँड्न सिकाउन पनिु हो । निषेध वा तिरस्कार गर्नु पक्कै पनि हैन । तर हाम्रो परिप्रेक्षमा यस्ता कामहरू ज्यादै कम हुने गर्छन् । हामी बाहेक कोही छैन भन्ने प्रवृति देख्दा तिनले सकेको खण्डमा साहित्यिक पत्रकारिता माथि नै अङ्कुस नलगाउलान् भन्न सकिन्न । राजनीतिमा मात्र हैन अन्य क्षेत्रमा पनि आफूले देखेको सत्य मात्र साँचो हो भन्नेहरूको कमी रहेनछ । अन्यथा साहित्यिक पत्रकारितालाई टेढो नजरले हेर्नु पर्ने कारण देखिँदैन ।

साहित्यिक पत्रकारिताको सम्बन्ध संस्कृति निर्माण, समाज सुधार, सामाजिक सद्भावको जगेर्ना, आपसी प्रेम, मेलमिलाप र एकतालाई एकिकृत गर्दै त्यसको जगेर्नातिर पनि हुन्छ । हरेक मुलुकको आफ्नो अलग मौलिक संस्कृति, परम्परा, रीति रिवाज र मूल्य मान्यता हुन्छन् । यिनीहरूले कुनै पनि देश, समाज र संस्कृति चिन्न भरपुर सहयोग गर्छन् । यिनीहरूको प्रचार प्रसार र जगेर्नामा साहित्यिक पत्रकारिताको भूमिका जहिले पनि अहं रहन्छ ।

देशका सामाजिक र सास्कृतिक सम्पत्तिको संरक्षण, संवर्धनले र प्रचारप्रसारले राष्ट्रलाई चिनाउने हो । यो कर्ममा विगतदेखि आगतसम्म साहित्यिक पत्रकार अग्रमोर्चामा नै छन् । हैसियत र सामथ्र्यले भ्याएसम्म काम गरिरहेका छन् । त्यो विगतमा पनि गरेका थिए । वर्तमानमा पनि गरिरहेका छन् र भविश्यमा पनि गर्ने छन् ।

संसारको जुनसुकै कुनामा रहेको भए पनि जानकारहरूको काम बाटो देखाउने र हिँड्न सिकाउने हो । तसर्थ कसैको कर्मलाई पनि टेढो आँखा लगाउनु भन्दा साथमा हिँडाउनु नै बुद्धिमानी ठहर्छ । इतिहासलाई आफू अनुकुल व्याख्या विश्लेषण गर्ने चिन्तनले पनि कसैको हित गर्दैन ।

तर, यतातिर सम्बन्धित पक्षको ध्यान जान सकिरहेको छ जस्तो लाग्दैन । त्यसैले त संस्कृति निर्माणको मुख्य कडी साहित्य र साहित्यिक पत्रकारिता जहिले पनि पछाडिको पछाडि नै छाडिई रहेछ । राजनेता मात्र हैनन् आफूलाई सामाजिक अभियन्ता र नागरिक अगुवा भनाउन रुचाउनेहरू समेतको नजर यतातिर कहिल्यै पर्दैन । अर्थात् उनीहरू यसको संरक्षण र संवर्धनमा आवाज मुखरित गर्नुलाई प्राथमिकतामा राख्दैनन् ।

हरेक राजनीतिक घटना प्रतिघटनामा शीघ्रातिशीघ्र पर्ने ती नजरहरूको ध्यान यता पटक्कै जाँदैन । हो पनि, साहित्य र साहित्यिक पत्रकारिताले न कसैलाई पदमा पुर्याउन मदत गर्छ न त त्यहाँबाट ओराल्ने हैसियत नै राख्छ । यसले क्षण भरमै वाहवाहीको माला पहिर्याउन पनि सक्दैन । सायद त्यसैले होला साहित्यिक पत्रकारिता सधैँ ओझेलको ओझेलमै छ । यसको उत्थान र उन्नयनतिर कोही कसैको सकारात्मक ध्यान जान सकिरहेको छैन ।

भनिन्छ नि, बोल्नेको पिठो बिक्छ तर नबोल्नेको चामल पनि बिक्दैन । वर्तमानमा साहित्यिक पत्रकारिताले यही नियति भोगिरहेको छ । देशमा पटक पटक राजनीतिक परिवर्तन भए । समयले कोल्टे फेर्यो । तर, योगदानका साथ सतहमा देखिएको साहित्यिक पत्रकारितालाई केही गर्नुपर्छ भन्ने कसैले ठानेन ।

यसको मतलब साहित्यिक पत्रकारिता मात्र अप्ठेरोमा छ भन्न खोजिएको पनि किमार्थ हैन । अरु क्षेत्र र अन्य पक्षहरू पनि असजिलोमा होलान् तर साहित्यिक पत्रकारिता फरक विषय हो र यसलाई अलग आँखाले हेरौँ भन्ने मात्र आम साहित्यिक पत्रकारको आग्रह हो । अपवाद बाहेक अधिकांश साहित्यिक पत्रकार रहर, ईच्छा, कर्तव्यबोध, केही गरौँ भन्ने सोच र सकारात्मक चिन्तनका कारण यो कर्ममा लागेका हुन् मात्र हैन लागि रहने पनि छन् ।

प्रवासका बनारस, देहरादुन, दार्जिलिङ्, मेघालय, नागालैण्ड, मणिपुर, शिमला वा आसाम र नेपाल जहाँ जहाँबाट समूहगत वा एकल प्रयासमा आजसम्म साहित्यिक पत्रपत्रिका प्रकाशित भए ती सबै रहर वा कर्तव्यबोधका परिणाम हुन् । कतिपय प्रकाशन बन्द पनि भएका छन् र कतिपय मनहरूमा रहर जन्मेर गति लिने क्रम पनि चलिरहेको छ । यसो त यसको क्रम भङ्गता कसैले गर्न सक्दैन । जस्तो सुकै परिवेशमा पनि साहित्यिक पत्रकारिता निरन्तर चलिरहेको छ अर्थात् रोकिएका छैनन् । कोभिडको महामारी कालमा पनि निजि तवरबाट प्रकाशित हुने अधिकांश साहित्यिक पत्रपत्रिकाले आफ्नो काम अँह रोकेनन् ।

 

हरेक राजनीतिक घटना प्रतिघटनामा शीघ्रातिशीघ्र पर्ने ती नजरहरूको ध्यान यता पटक्कै जाँदैन । हो पनि, साहित्य र साहित्यिक पत्रकारिताले न कसैलाई पदमा पुर्याउन मदत गर्छ न त त्यहाँबाट ओराल्ने हैसियत नै राख्छ । यसले क्षण भरमै वाहवाहीको माला पहिर्याउन पनि सक्दैन । सायद त्यसैले होला साहित्यिक पत्रकारिता सधैँ ओझेलको ओझेलमै छ । यसको उत्थान र उन्नयनतिर कोही कसैको सकारात्मक ध्यान जान सकिरहेको छैन ।

 

अन्यत्रका सामान्य भन्दा सामान्य समस्याहरू पनि देख्ने अगुवा आँखाहरू भाषा, साहित्य, संस्कृति, कला, परम्परा र मूल्य मान्यता माथिका र अप्ठेरा असजिला पटक्कै देख्दैनन् वा देखे पनि देखेको नदेख्यै गर्छन् । यता बोल्नु मरिगए आवश्यक ठान्दैनन् । साहित्यिक पत्रकारिता भरेङको बन्न नसकेको कारण यो नियति भोग्न वाध्य बनेको त हैन यो क्षेत्रमा लामो समयदेखि कलम चलाइरहेकाहरूको ओठ ओठमा यो प्रश्न छ ।
बि.सं. १९९५ बाट प्रकाशन आरम्भ गरिएको उदय साहित्यिक पत्रिका छोरा पुस्तामा पुगेर पनि निरन्तर प्रकाशित भईरहेछ । बनारसबाट नेपाली भाषा साहित्यको विकासमा त्यसले पुर्याई रहेको योगदान अतुलनीय छ । विदेशमा रहेर नेपाली साहित्यको उत्थानमा मरिमेटेर लागेका बाबु–छोरा काशीबहादुर श्रेष्ठ र दुर्गाप्रसाद श्रेष्ठहरूलाई हाम्रा आँखाले देखेका छैनन् र आँखाहरू त्यस्तो चाहना पनि बोक्दैनन् ।

प्रत्येक काम कुरोमा नाफा घाटाको हिसाब किताब गर्नु हुँदैन । ती सब बिर्सिएर दुर्गाप्रसादहरू वर्षौ वर्षदेखि साहित्यिक पत्रकारितामा रमाइरहनुभएको छ । नेपाल बाहिर रहेर पनि भाषा साहित्यको विकासमा दिलो ज्यानले सघाई रहनु भएको छ । तर हामी सही मूल्यांकन गर्न सकिरहेका छैनौँ । यति मात्र हैन उहाँहरूले गरेको कर्मलाई पत्रकारिता भन्न समेत हिचकिचाई रहेका छौँ । नाफमा मात्र जिन्दी सोच्नेहरूले गर्ने त्यत्ती मात्र हो ।

विभिन्न कालखण्डमा नविन ईतिहास बनाएका शारदा लगायतका साहित्यिक पत्रिकाका कामलाई पनि आज हामी साहित्यिक पत्रकारिता भन्न हिचकिचाई रहेका छौँ । अनेक उपमा र विशेषण दिएर पन्छिन खोज्ने प्रवृतिले हाम्रा मथिंगलमा काम गरिरहेका कारण परिस्थिति जटिल बन्दै गएको हो ।

अहिलेसम्म जीवीत मात्र हैन ६० वर्ष देखि निरन्तर योगदान दिइरहेको रचना, ५० वर्षदेखि योगदान गरिरहेको अभिव्यक्ति तथा भानु, ४० को हाराहारीदेखि योगदान गरिरहेका तन्नेरी, जनमत र दायित्वलगायत साहित्यिक पत्रिका अहिले पनि संस्कृतिको उन्नयनमा महत्वपूर्ण योगदान रहिआएको छन् । यो तथ्यलाई कसैले पनि बिर्सन सक्दैन तर नबिर्सनेहरूको संख्या क्रमशः घटिरहेको छ ।

यथार्थमा विविध कालखण्डमा देशमा भएका राजनीतिकदेखि सामाजिक र सांस्कृतिक आन्दोलन तथा परिवर्तन समेतमा साहित्यिक पत्रकारितामा कर्म गर्ने पत्रकारको महत्वपूर्ण योगदान रहेको कुरालाई नकार्न सकिँदैन । तर, यो पाटोतिर हाम्रा चिन्तन किन जान नसकेका हुन् यसलाई गम्भीरतापूर्वक सोचिनु आवश्यक छ ।

खोलो तर्यो लौरो बिस्र्यो गर्ने हाम्रो प्रवृत्तिका कारण हाम्रा त्यता नजर जान नसकेको हो कि भनेर आशंका गर्न सकिने ठाउँ प्रशस्त देखिन्छन् । यसमा सुधार हुनु आवश्यक छ । हामीमा बढ्दै गएको इतिहासप्रतिको कृतघ्न भाव पनि यसको कारक भन्ने अनुमानलाई अन्यथा ठान्न सकिँदैन ।

आज पनि हाम्रा साहित्यिक पत्रपत्रिका देशको सिमाना काटेर वैध रूपमा नेपाली बहुल भारतीय क्षेत्रमा निर्वाध जान सक्दैनन् । लामो समयदेखि साहित्यिक पत्रिका र पत्रकारले आवाज उठाइरहे पनि तालुकवाला निकाय मुख खोल्दैनन् वा उपयुक्त ठाउँमा केही पनि बोल्दैनन् । कुरा यतिमात्र कहाँ हो र ? सचेत वर्ग, नागरिक अगुवा र बुध्दिजीवीहरूको ध्यान पनि यता कहिल्यै खिचिन सक्दैन । ती सबै बोल्न डराई रहेका छन् । किन थुनिएको छ तिनीहरूको मुख ? यो प्रश्नको उत्तर सखल्दो रूपमा आउन सकिरहेको छैन । साहित्यिक पत्रकार यसलाई अर्थ पूर्ण नजरले हेरिरहेका छन् ।

आवश्यकतामा सबै मुखहरू मौन अर्थात् चुपचाप रहन्छन् । जिम्मेवारहरू कोही पनि देखिँदैनन् । जिम्मेवारी पनि त एउटा पहिचान हो नि । तर खै ती किन बोलिरहेका छैनन् । किन ? यो क्षेत्रमा क्रियाशील सबैका ओठ ओठमा प्रश्नहरू छन् । तर, प्रश्न प्रश्नका रूपमा मात्र छन् । उत्तर कोहीसँग छैन । लामै समय देखि उत्तरको प्रतीक्षा गरिरहेकाहरू हरेक अवधिमा शासन सत्तामा पुग्नेहरूबाट चित्त बुझ्दो उत्तर खाजिरहेका छन् । भेट्न सकिरहेका छैनन् । आफू आफू नरहेको परिप्रेक्षमा जस्तोसुकै उत्तर दिन सकिन्छ । जिम्मेवारी बोध नगर्नेहरूको उत्तरमा केवल आफ्नो प्रस्तुति मात्र हुनुलाई अन्यथा भन्न सकिँदैन ।

त्यसो भए साहित्यिक पत्रकारिता पत्रकारिता हो कि हैन त ? यसको उत्तर साहित्यिक पत्रकारिता गरिरहेकाहरू खोजिरहेका छन् । उनीहरूको मतमा त साहित्यिक पत्रकारिता पनि पत्रकारिता नै हो ।

इतिहासका पाठकहरू पनि हैन भन्ने पक्षमा खासै देखिएका छैनन् । तर पनि प्रश्न उठेपछि छिनोफानो गरिनु आवश्यक छ । यसर्थ म साहित्यिक पत्रकारिता गरिरहेको नाताले सोध्न चाहन्छु साहित्यिक पत्रकारिता पत्रकारिता हो कि हैन ?

(रिजाल नेपाल पत्रकार महासंघ काठमाडौंका सदस्य तथा बारा जिल्लाबाट २८ वर्षदेखि प्रकाशन हुँदै आएको नवप्रज्ञापन साहित्यिक पत्रिकाका सम्पादक, प्रकाशक हुनुहुन्छ ।)

नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको प्रकाशनमा “पत्रकारिता” स्मारिकाबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *